दफा ४५
धितोपत्र बजारको काम, कर्तव्य र अधिकार
धितोपत्र बजारको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) आफू मार्फत हुने धितोपत्र कारोबारलाई पारदर्शी, स्वच्छ र नियमित रुपमा सञ्चालन गर्ने गराउने,
(ख) धितोपत्र बजार सञ्चालन गर्दा सर्वसाधारण लगानीकर्ताको हितलाई ध्यानमा राखी गर्ने गराउने,
(ग) आफ्नो सदस्यहरुलाई यो ऐन र यस ऐन अन्तर्गत बनेका नियम तथा विनियमहरुको पूर्ण रुपमा पालना गर्न लगाउने र यस सम्बन्धी कुराको अनुगमन र सुपरिवेक्षण गर्ने गराउने,
(घ) धितोपत्र कारोबार गर्न पर्याप्त र सुविधायुक्त कारोबार स्थलको व्यवस्था गर्ने,
(ङ) कारोबार सञ्चालन गर्न सक्षम कर्मचारीहरुको व्यवस्था गर्ने,
(च) आकस्मिक तथा सुरक्षा व्यवस्थाका लागि पर्याप्त सुविधा र उचित पद्धतिको व्यवस्था गर्ने,
(छ) धितोपत्रको विनिमय वा खरिद बिक्रीको प्रबन्ध गर्नको लागि सूचीकरण गर्न गराउन र सदस्यता सम्बन्धी व्यवस्था गर्न बोर्डको स्वीकृति लिई विनियम बनाउने,
(ज) धितोपत्र बजार सञ्चालनको लागि अन्य आवश्यक कार्यहरु गर्ने गराउने ।